काठमाडौँ– पछिल्लो २४ घण्टामा देशभर २७२ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी २१ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता र २६ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार असोज ११ गते बिहान १० बजेदेखि असोज १२ गते बिहान १० बजेसम्म देशका विभिन्न स्थानमा उक्त विपद्का घटना भएका हुन्।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै पहिरोका ९७ वटा घटना भएका छन्। पहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता र चार जना घाइते भएका छन्।
यसैगरी, सो अवधिमा अविरल वर्षाका ८०, बाढीका ५७, सर्पदंशका १७, आगलागीका आठ, हावाहुरीका आठ, जनावर आक्रमणका चार र हिमपातको एक घटना भएको प्राधिकरणले जनाएको छ।
बाढीका घटनामा मानवीय क्षति नभए पनि ४१५ जनाको उद्धार गरिएको छ। यस्तै, अविरल वर्षाका कारण प्रभावित ७०० जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ।
विपद्का कारण देशभर ४८ वटा सडकखण्ड अवरुद्ध भएका छन्। विभिन्न घटनामा १२१ चौपाया समेत क्षति भएका छन्। विपद्बाट भएको प्रारम्भिक अनुमानअनुसार एक करोड ९१ लाख ६६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएका विपद्का घटनामा पहिरो, बाढी र अविरल वर्षा प्रमुख छन्। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायले खोज, उद्धार र राहतको काम जारी राखेका छन्।