काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।
प्रसाईंविरुद्ध जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले जाहेरी दिएको बताइएको छ। सोही जाहेरीका आधारमा प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि साइबर ब्युरोमा बुझाएको हो।
प्रसाईंले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति खतिवडा खत्रीले आपत्ति जनाउँदै आएकी थिइन्। सोही विषयलाई लिएर उनले प्रहरीमा जाहेरी दिएको जनाइएको छ।
प्रसाईं यसअघि पनि विभिन्न अभिव्यक्ति तथा साइबरसम्बन्धी कसुरमा अनुसन्धान र पक्राउमा पर्दै आएका छन्। पछिल्लोपटक उनलाई यही साउनमा पनि भक्तपुरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।