काठमाडौं। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सहकारी ठगीमा संलग्न जोसुकै भए पनि बिना मुलाहिजा कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । राजनीतिक संरक्षणका आधारमा ठगीमा संलग्नलाई जोगाउन नहुने उनको भनाइ छ ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित सहकारी ठगीसम्बन्धी पुस्तक विमोचन कार्यक्रममा बोल्दै ज्ञवालीले सहकारी पीडितले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै दोषीमाथि कानुनी कारबाही हुनुपर्ने बताए ।
‘जसले ठगेका छन्, बिना मुलाहिजा उनीहरूलाई कारबाही गर्ने कुरा जरुरी छ,’ ज्ञवालीले भने ।
उनले एमालेसँग जोडिएका व्यक्तिहरू सहकारी ठगीमा संलग्न भएको पाइएपछि पार्टीले कारबाही गरेको दाबी गरे । इच्छाराज तामाङ, ढोरपाटनका मेयर देवकुमार नेपाली र सहकारी विभागका पूर्वप्रमुख केबी उप्रेतीको उदाहरण दिँदै उनले गल्ती गर्ने आफ्ना पार्टीका सदस्यलाई समेत कारबाही गरिएको बताए ।
कानुनी कारबाहीमा परेका राजनीतिक दलका नेताले त्यसलाई स्वीकार गर्दै अनुसन्धानमा सहयोग गर्नुपर्ने ज्ञवालीको भनाइ थियो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउ परेपछि देशव्यापी आन्दोलन गरेर ‘उपद्रव’ गरेको आरोप उनले लगाए ।
सहकारी ठगीका कारण सबैभन्दा बढी साना बचतकर्ता पीडित भएको उल्लेख गर्दै ज्ञवालीले सहकारीबाट रकम लिएर जग्गा कारोबारमा लगाउने प्रवृत्तिले पनि समस्या बढाएको बताए । पीडितको रकम फिर्ता हुने सुनिश्चितताका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ ।