काठमाडौं। सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिरै महिलाले शिशु जन्माएको घटनामा ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाएर छानबिन थालिएको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मेहताले मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको र अस्पतालले जवाफ दिइसकेको जानकारी दिइन्। घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगेको उनले बताइन्। जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छानबिन समिति गठन गरेको छ।
‘घटनालाई गम्भीरतापूर्वक लिई आवश्यक छानबिन अघि बढाएका छौँ,’ मेहताले भनिन्।
अस्पतालका अनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसवको अवस्थामा अस्पताल भर्ना भएकी ३० वर्षीया बबिता कुमारी पासवान बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिरै प्रसूती भएकी थिइन्। प्रसूतीपछि उनलाई नवजात शिशुसहित प्रसूति वार्डमा ल्याएर आवश्यक उपचार गरिएको थियो।
छानबिन प्रतिवेदनका आधारमा दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही गरिने मेहताले बताइन्।