काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले मन्त्रालयको कर्मचारीतन्त्र उद्योगी–व्यवसायीको प्रभावमा चलेको आरोप लगाएकी छन्। आफूले उद्योग क्षेत्रमा सुधार गर्न खोज्दा कर्मचारीबाटै असहयोग भएको र उद्योगीको हितअनुकूल बनेका नियम–कानुन परिवर्तन गर्न खोज्दा आफूलाई काम गर्न अप्ठ्यारो पारिएको उनको गुनासो छ ।
बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री गौरी कुमारीले मन्त्रालयले बनाउने विधेयक तथा कानुनसमेत उद्योगी–व्यवसायीको स्वार्थअनुकूल तयार हुने गरेको आरोप लगाइन् । आफूले पटक–पटक सुधारका लागि निर्देशन दिए पनि कर्मचारीले कार्यान्वयन नगरेको उनको भनाइ छ ।
‘सबै उद्योगीहरूको हिसाबले हाम्रा कर्मचारीतन्त्रले चलाइरहेको छ,’ उनले भनिन्, ‘कर्मचारीले साथ नदिएसम्म तपाईं केही पनि गर्न सक्नुहुन्न ।’
बलियो सरकार हुँदासमेत कर्मचारीतन्त्रको असहयोगका कारण आफूले चाहेजस्तो काम गर्न नसकेको उनले बताइन् । विधेयकमा उद्योगीले भनेका प्रावधान राख्ने तर त्यसलाई परिवर्तन गर्न खोज्दा कर्मचारीले नमानेको उनको आरोप छ । ‘चेन्ज गर्न भन्नुस्, मान्दैन कर्मचारी,’ उनले भनिन् ।
नेपालमा उद्योग स्थापना र सञ्चालनका लागि उपयुक्त वातावरण नरहेको भन्दै मन्त्रीले कच्चा पदार्थ र तयारी वस्तुको आयातमा रहेको भन्सार नीतिसमेत पुनरावलोकन गर्नुपर्ने बताइन् । सस्तोमा तयारी वस्तु आयात हुने तर त्यही वस्तु उत्पादन गर्न आवश्यक कच्चा पदार्थ महँगो पर्ने अवस्थाले स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ ।
ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई बोलाएर छलफल गर्ने प्रयास गरे पनि अपेक्षित परिणाम नआएको उनले बताइन् । नेपालमा आवश्यकताभन्दा धेरै ग्यास उद्योग रहेकाले आपूर्ति व्यवस्थापनमा समस्या भएको दाबी गर्दै उनले उद्योगको संख्या घटाउनुपर्ने बताइन् ।
‘५८ वटा ग्यास उद्योग चाहिएको छैन, हामीलाई,’ उनले भनिन् । उनका अनुसार ठूला मुलुकमा समेत दुई–तीनवटाभन्दा बढी ग्यास उद्योग आवश्यक नपर्ने अवस्था रहेकाले नेपालमा अत्यधिक उद्योग सञ्चालनमा छन् ।
मन्त्रीले ग्यास उद्योगको लाइसेन्स वितरण प्रक्रियामाथिसमेत प्रश्न उठाइन् । उद्योगीको प्रभावबाट समिति र कानुन निर्माण प्रक्रिया मुक्त गरी राष्ट्रहितलाई केन्द्रमा राखेर नीति बनाउनुपर्ने उनको जोड छ । कर्मचारीतन्त्र सुधार नगरेसम्म आफूले चाहेजस्तो परिवर्तन गर्न नसकिने भन्दै उनले सुधारका लागि सरकार र युवाको दबाब आवश्यक रहेको बताइन् ।