काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से १८.०७ अंकले बढेर २५६० अंकमा पुगेको छ । योसँगै नेप्से लगातार चौथो कारोबार दिन पनि हरियो अंकमा बन्द भएको हो । अघिल्लो कारोबार दिन बजार ४.६६ अंकले बढेको थियो ।
सोमबार बजारमा उतारचढाव भने सामान्य रह्यो । दिनभर नेप्से न्यूनतम २५४२ अंकदेखि अधिकतम २५६५ अंकसम्म पुगेको थियो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आइतबार ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
आज कारोबार भएका कम्पनीमध्ये १९५ वटाको सेयर मूल्य बढ्दा ७९ वटाको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रह्यो ।
समूहतर्फ निर्जीवन बीमा सबैभन्दा धेरै २.०५ प्रतिशतले बढेको छ । भदौ १० गतेको बाढीपछि यो समूहमा ठूलो असर परेको थियो । पछिल्लो समय मूल्यमा केही गिरावट आएकाले सोमबार यस समूहका कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखिएको हो ।
त्यस्तै बैंकिङ समूह १.१५, विकास बैंक ०.१३, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.५१, लगानी ०.०४, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन १.२४, माइक्रोफाइनान्स ०.६१ र अन्य समूह ०.५० प्रतिशतले बढेका छन् । व्यापार समूह ०.०९ र फाइनान्स समूह ०.४३ प्रतिशतले घटेका छन् ।
सोमबार पियोर इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । गणपति लघुवित्त ७.३५, श्रीनगर एग्रिटेक ६.२६, कालिका लघुवित्त ६.२२, सागर डिस्टिलरी ६.२०, रावा इनर्जी ५.३२, शिखर इन्स्योरेन्स ५.२४ र एसवाई प्यानलको मूल्य ४.९२ प्रतिशतले बढेको छ ।
यता इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्य १५ प्रतिशतले घटेको छ । सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई मुक्तिनाथ विकास बैंकले एक्विजिसन गर्ने समझदारी गरेपछि यी कम्पनीको सेयर कारोबारमा प्रभाव परेको छ । अपर लोहोरेखोला १३.३३ र आशा लघुवित्तको मूल्य ७.३९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, गरिमा विकास बैंक, सोलु हाइड्रोपावर, एसवाई प्यानल, सुपरमादी, शिवम् सिमेन्ट, रिडी पावर, नबिल बैंक र सिद्धार्थ बैंक अग्रस्थानमा रहे ।