काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.६६ अंकले बढेर २ हजार ५४२ अंकमा पुगेको छ । अघिल्लो दिन १५ अंकले बढेको बजारमा बिहीबार पनि सामान्य वृद्धि देखिएको हो । यससँगै यो साता लगातार तीन दिन सेयर बजार सकारात्मक बनेको छ ।
बिहीबार बजारमा उतारचढाव न्यून रह्यो । दिनभर नेप्से न्यूनतम २ हजार ५३३ अंकदेखि अधिकतम २ हजार ५४५ अंकसम्म पुगेको थियो । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । बुधबार २ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भयो ।
आज १४५ कम्पनीको सेयर मूल्य बढ्दा १२३ कम्पनीको घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो ।
समूहतर्फ लगानी समूहको सूचक सर्वाधिक १.२६ प्रतिशत बढेको छ । व्यापार समूह १.०९ प्रतिशतले उक्लिँदा बैंकिङ ०.२४, विकास बैंक ०.२०, होटल तथा पर्यटन ०.०९, जीवन बीमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४६ र माइक्रोफाइनान्स ०.२७ प्रतिशतले बढेका छन् ।
त्यस्तै, फाइनान्स समूह ०.३४, जलविद्युत् ०.२३, निर्जीवन बीमा ०.२८ तथा अन्य समूह ०.३६ प्रतिशतले घटेका छन् ।
बिहीबार विन नेपाल लघुवित्तको सेयर मूल्य ८.७६ प्रतिशतले बढेर सर्वाधिक वृद्धि भएको छ । चिरख्वा हाइड्रोपावर ८.५६, आशा लघुवित्त ८.२९, मायाखोला हाइड्रोपावर ७.८४, माउन्ट एभरेस्ट पावर ६.४५ र रिलायन्स स्पिनिङ मिल्स ५.०१ प्रतिशतले बढेका छन् ।
यता पियोर इनर्जीको सेयर मूल्य सर्वाधिक १३.३३ प्रतिशतले घटेको छ । आत्मनिर्भर लघुवित्त ६.१०, सेन्ट्रल फाइनान्स ५.७६ र स्वाभिमान लघुवित्तको मूल्य ४.३८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सानिमा मिडिल तमोर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, आँखुखोला जलविद्युत् र रिडी पावर अगाडि रहे ।