काठमाडौं। काठमाडौं महानगरपालिकाले विपद् प्रभावित नागरिकको विवरण संकलन, आवश्यकता पहिचान र राहत समन्वयका लागि विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याएको छ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार हेल्प डेस्क र सूचना केन्द्रको शुभारम्भ गर्दै विपद्का बेला प्राप्त सहयोगलाई वास्तविक प्रभावितसम्म पुर्याउन यसले समन्वयकारी भूमिका खेल्ने बताइन्। उनका अनुसार सहयोगलाई नगद, जिन्सी र सेवाका रूपमा वर्गीकरण गरिएको छ।
नगद सहयोग प्रधानमन्त्री राष्ट्रिय विपद् उद्धार तथा राहत कोषमा जोडिनेछ। जिन्सी सामग्री प्रभावित क्षेत्रको वास्तविक आवश्यकताका आधारमा संघीय तथा स्थानीय सरकारसँग समन्वय गरी पठाइनेछ भने सेवा दिन चाहने व्यक्ति तथा संस्थालाई आवश्यकताअनुसार सम्बन्धित क्षेत्रमा परिचालन गरिनेछ।
‘सहयोग गर्न चाहनेहरूलाई आवश्यकताअनुसार सम्बन्धित ठाउँमा जोड्ने काम हेल्प डेस्कमार्फत गर्नेछौँ,’ डंगोलले भनिन्।
महानगरले बाढी प्रभावितका लागि सातवटा एम्बुलेन्स परिचालन गरेकामा पाँचवटा प्रभावित क्षेत्रमा र दुईवटा विमानमार्फत ल्याइएका गम्भीर बिरामीलाई अस्पताल पुर्याउन प्रयोग गरिएको जनाएको छ। यातायातको माग बढेपछि निःशुल्क यातायात सेवा सुरु गरिएको र हालसम्म नुवाकोटबाट ८० जनालाई काठमाडौं ल्याइएको डंगोलले बताइन्। चारवटा शववाहनसमेत परिचालन गरिएको छ।
महानगरका अनुसार उद्धार तथा राहतमा स्काउट टोलीसमेत परिचालित छ। रसुवा लगायतका प्रभावितलाई काठमाडौं ल्याएर पहेँलो गुम्बामा करिब तीन सय जनाका लागि खाना र बसोबासको व्यवस्था गरिएको विपद् व्यवस्थापन विषयगत समितिका संयोजक प्रेम थापाले बताए। उनका अनुसार महानगरले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा चार करोड रुपैयाँभन्दा बढी सहयोग गरेको छ।
सूचना केन्द्रले महानगरका ३२ वटै वडाबाट प्रभावित तथा पीडितको विवरण संकलन गर्नेछ। उक्त विवरणका आधारमा राहत, पुनःस्थापना तथा अन्य आवश्यक सहयोगका कार्यक्रम तय गरिने महानगरले जनाएको छ।