काठमाडौं। नेपाली कांग्रेसले बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिइएको भन्दै आपत्ति जनाएको छ। भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीपछि फैलिएको दुर्गन्ध जनस्वास्थ्यका लागि चुनौती बनेको भन्दै कांग्रेसले विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराएको हो।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफलमा शव व्यवस्थापनको संवेदनशीलतालाई बेवास्ता गरिएको गुनासो आएको बताए। बाढी प्रभावित क्षेत्रमा फैलिएको दुर्गन्धले थप स्वास्थ्य जोखिम निम्त्याउन सक्ने भन्दै उनले तत्काल आवश्यक व्यवस्थापन गर्नुपर्ने बताए।
‘शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिएको विषय पनि गम्भीर रूपमा उठेको छ,’ आङदेम्बेले भने, ‘भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा फैलिएको दुर्गन्ध पनि हाम्रो लागि ठूलो चुनौती बनेको छ।’
आङदेम्बेका अनुसार उनले यस विषयमा प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराइसकेका छन्। स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँगको समन्वय र उनीहरूको सुझावका आधारमा प्रधानमन्त्रीलाई नौबुँदे ध्यानाकर्षणपत्र बुझाइएको उनले बताए।
विपद्पछिको राहत, पुनःस्थापना तथा दीर्घकालीन व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराइएको कांग्रेसले जनाएको छ।