काठमाडौँ । अविरल वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गको आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको तथा जोखिमयुक्त क्षेत्रमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
सुनकोशी नदीको जलसतह सतर्कता तह पार गरेपछि बीपी राजमार्गअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा विशेष सावधानी अपनाइएको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै उक्त सडकमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने अवस्था हेरेर सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।
त्यस्तै, कान्ति लोकपथको हेटौँडा–ठिंगन–ललितपुर खण्डमा बाढी तथा पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
टोखा–छहरे सडकअन्तर्गत शिवपुरी–८, घट्टेखोला क्षेत्रमा पनि जोखिम बढेपछि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
यता, मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को राजदुवालीमा अविरल वर्षाका कारण झापा–ताप्लेजुङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्गबाट आवागमन गर्न सकिने प्रहरीले जनाएको छ।
त्यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यो अवरोध लामो समयसम्म रहन सक्ने प्रहरीले जनाएको छ। रसुवाका मुख्य राजमार्गहरू साउन १० गतेदेखि नै बाढीका कारण प्रभावित हुँदै आएका छन्।
यसैबीच, चितवनको नारायणगढ–मुग्लिन हुँदै पोखरा तथा काठमाडौँ जाने सवारी साधनको आवागमन भने पूर्ण रूपमा सुचारु भएको छ। रसुवा क्षेत्रमा बाढी आएको सूचनापछि केही समय रोकिएका सवारी साधनलाई अवस्था सामान्य बनेपछि गन्तव्यतर्फ जान अनुमति दिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।