काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका विभिन्न देशका १८७ पर्यटकको उद्धार गरिएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार बुधबार बिहान आएको बाढीपछि गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्रामा रहेका पर्यटकमध्ये १५ देशका १८७ जनाको उद्धार गरिएको हो। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत ती क्षेत्रमा पुगेका पर्यटकको खोजी तथा उद्धारका क्रममा उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको जानकारी दिनुभयो।
उद्धार गरिएका पर्यटकमा भारतका ११४, चीनका २७, दक्षिण कोरियाका २०, जर्मनीका चार, बेल्जियमका एक, बुल्गेरियाका एक, इटालीका तीन, माल्टाका चार, ओमनका एक, पोर्चुगलका एक, रसियाका दुई, स्पेनका दुई, स्वीजरल्यान्डका दुई, टर्कीका दुई र अमेरिकाका तीन जना रहेका छन्।
यद्यपि, बाढीमा परेर अझै ४२० जना पर्यटक सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरीलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित निकायले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी तथा उद्धारलाई तीव्रता दिएका छन्। घाइते तथा अलपत्र पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ।
बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै प्रभावित क्षेत्रका पर्यटक तथा सम्बन्धित सबैलाई धैर्य र सतर्क रहन आग्रह गरेको छ।
सहयोग तथा थप जानकारीका लागि टोल फ्री नं. १२३४, हटलाइन नं. ११४४ तथा पर्यटन प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।