काठमाडौं। भदौ १० को बाढी–पहिरोपछि सरकारले शवको खोजी, पहिचान तथा व्यवस्थापनसँगै सम्भावित संक्रामक रोगको जोखिम नियन्त्रणलाई प्राथमिकता दिएको छ । विपद्मा ज्यान गुमाएकाहरूको पहिचान र शव व्यवस्थापन जटिल बन्दै गएपछि सरकारले शव व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका परिमार्जन गरी स्वीकृत गरेको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार प्रभावित क्षेत्रमा घाइतेको उपचार व्यवस्थापन सहज हुँदै गए पनि बाढीले बगाएका शवको खोजी, पहिचान, भण्डारण र आफन्तलाई बुझाउने काम चुनौतीपूर्ण बनेको छ ।
‘विगतमा भएका अभ्यासहरूलाई परिमार्जन गरेर सरकारले हिजो मात्रै शव व्यवस्थापन गर्ने निर्देशिका स्वीकृत गरेको छ,’ अधिकारीले भने, ‘सबै शवहरू लामो समय सुरक्षित राख्न सम्भव नभएकाले भोलिका दिनमा पहिचानका लागि फरेन्सिक परीक्षण गर्न नमूनाहरू संकलन गरेर सुरक्षित राख्ने काम अगाडि बढाइएको छ ।’
निर्देशिकाअनुसार पहिचान नखुलेका शवलाई उपलब्ध स्रोतसाधन र अवस्थाअनुसार सुरक्षित रूपमा व्यवस्थापन गरिनेछ । भविष्यमा पहिचान खुलाउन सकिने गरी आवश्यक नमुना तथा विवरण सुरक्षित राखिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा जनावरका शव, सडेगलेका फोहोर तथा दूषित पानीका कारण जनस्वास्थ्यमा जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । कतै शव वा फोहोर फेला परे तत्काल स्थानीय प्रशासन वा प्रहरीलाई खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
विपद्पछि पानीजन्य तथा किटजन्य रोगको जोखिमसमेत बढेको मन्त्रालयले जनाएको छ । दूषित पानी, सरसफाइको कमी, पोषणको अभाव र किरा–फट्याङ्ग्राको वृद्धिका कारण विभिन्न रोग फैलन सक्ने तथा अस्थायी शिविरमा विस्थापितहरू एकै ठाउँमा बस्दा श्वासप्रश्वासजन्य संक्रमण तीव्र रूपमा फैलिन सक्ने जोखिम रहेको अधिकारीले बताए ।
‘विस्थापितहरू सानो ठाउँमा सँगै बस्दा संक्रमणको जोखिम उच्च हुन्छ,’ उनले भने, ‘त्यसैले रोग आउन नदिन, आइहालेमा तुरुन्त पहिचान गरी उपचार गर्न आवश्यक औषधि र स्वास्थ्य सामग्रीको जोहो तथा जनचेतना अभिवृद्धिका कार्यहरू भइरहेका छन् ।’
प्रभावित जिल्लामा स्थानीय प्रशासन, सुरक्षा निकाय र स्वास्थ्य टोलीबीच समन्वय गरी उद्धार, राहत तथा स्वास्थ्य उपचार सेवा सञ्चालनमा राखिएको मन्त्रालयले जनाएको छ । साथै, सम्भावित रोगको निगरानी, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन र जनचेतनामूलक गतिविधिलाई समेत अघि बढाइएको छ ।