काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार बाढी–पहिरोमा परी हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
प्रहरीले सार्वजनिक गरेको जिल्लागत विवरणअनुसार सबैभन्दा बढी चितवनमा २३३ जनाको शव फेला परेको छ। त्यस्तै, नवलपरासी पूर्वमा १५८, गोरखामा ४८, नवलपरासी पश्चिममा ४७, धादिङमा ४५, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको मृत्यु भएको छ।
विपद्मा फसेका तथा प्रभावित २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये नुवाकोटबाट १ हजार ६२२, रसुवाबाट ६७६ र धादिङबाट तीन जना रहेका छन्।
यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० पुगेको प्रहरीले जनाएको छ।