ल्हासा । चीनको सिचाङ स्वायत्त क्षेत्रअन्तर्गत केरुङ बन्दरगाहमा बुधबार आएको पहिरो तथा लेदोसहितको बाढीमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । विपद्पछि चीनतर्फ अझै ५५४ जना बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।
सिचाङको आपत्कालीन व्यवस्थापन विभागका अनुसार शनिबार बिहानसम्म दुई स्थानीय बासिन्दाको उद्धार गरिएको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि २ हजार १४१ जना उद्धारकर्मी र ८६ जना विशेषज्ञ परिचालन गरिएको छ ।
प्राकृतिक स्रोत तथा अन्य सम्बन्धित क्षेत्रका विशेषज्ञलाई समेत परिचालन गरी आसपासका भीर, सडक तथा जोखिमयुक्त क्षेत्रमा सम्भावित भौगर्भिक जोखिमको निरीक्षण तीव्र पारिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
थप विपद्को जोखिम न्यूनीकरण गर्न पहिरोका कारण बनेको तालको अवस्थाबारे निरन्तर निगरानी गर्न पाँच सदस्यीय अनुगमन टोलीसमेत परिचालन गरिएको छ ।
यसैबीच, विपद्का कारण अवरुद्ध भएको १.०२ किलोमिटर सडक सफा गरी पुनः सञ्चालनमा ल्याइएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
बुधबार बिहान नेपालतर्फबाट आएको पहिरो र लेदोसहितको बाढी चीनको सिचाङ स्वायत्त क्षेत्रको केरुङ काउन्टीस्थित केरुङ बन्दरगाहसम्म पुगेको थियो । बाढी तथा पहिरोका कारण सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुगेको छ ।