बाजुरा । परम्परागत कृषि प्रणालीमा गोरुको प्रयोगलाई निरन्तरता दिन तथा किसानलाई गोरु पालनतर्फ आकर्षित गर्ने उद्देश्यले बाजुराका १५६ किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत प्रतिकिसान पाँच हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको हो ।
कृषिमा प्रविधि तथा यान्त्रिकीकरणको प्रयोग बढ्दै गएपछि गोरु पाल्ने किसानको संख्या घट्न थालेको भन्दै केन्द्रले परम्परागत कृषि प्रणाली संरक्षणसँगै गोरु पालनलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
प्रोत्साहन रकम प्राप्त गर्ने किसानमध्ये स्वामीकार्तिक खापर गाउँपालिकाका ३७, बडीमालिका नगरपालिकाका ३३, गौमुल गाउँपालिकाका ३२, बुढीनन्दा नगरपालिकाका १४, खप्तड छेडेदह गाउँपालिकाका १४, जगन्नाथ गाउँपालिकाका ११, हिमाली गाउँपालिकाका सात, त्रिवेणी नगरपालिकाका चार र बुढीगंगा नगरपालिकाका तीन जना रहेका छन् ।
कार्यक्रमका लागि जिल्लाका नौवटै स्थानीय तहबाट चार सय किसानले आवेदन दिएका थिए । आवश्यक कागजात परीक्षणपछि दुई सय किसान छनोट गरिएकोमा असार २५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेका १५६ जनालाई प्रतिकिसान पाँच हजार रुपैयाँका दरले बैंक खातामार्फत रकम भुक्तानी गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सिद्धराज जैशीले जानकारी दिए ।
उनका अनुसार घरमा एक हल गोरु पालेर परम्परागत विधिबाट खेती गर्ने किसान तथा जिल्लाका विकट स्थानीय तहलाई प्राथमिकतामा राखेर लाभग्राही छनोट गरिएको हो । दुर्गम क्षेत्रका किसानलाई सदरमुकाम आउनुपर्ने बाध्यता नहोस् भनेर सम्बन्धित पालिकामै आवश्यक कागजात बुझाउने व्यवस्था गरिएको उनले बताए ।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले हल गोरु पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमका लागि बाजुरामा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।