काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङसहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ । बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले उद्धार, खोज तथा राहतलाई तीव्रता दिएका छन् ।
बाढीमा परी मृत्यु भएकाको शव संकलन, व्यवस्थापन तथा पहिचान चुनौतीपूर्ण बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म बाढी प्रभावित विभिन्न स्थानबाट ५७९ शव फेला परेका छन्, जसमध्ये ५११ शव विभिन्न अस्पतालमा पुर्याइएको छ ।
प्राधिकरणका अनुसार रसुवामा फेला परेका तीन शव जिल्ला अस्पताल धुन्चेमा राखिएका छन् । धादिङबाट संकलित २७ शव पोखरा र १० शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । नुवाकोटमा फेला परेका ३८ शव पनि त्रिवि शिक्षण अस्पतालमा राखिएका छन् ।
चितवनमा फेला परेका शवमध्ये १७१ शव जिल्ला अस्पताल भरतपुर, चार नेशनल सिटी अस्पताल, दुई भरतपुर सामुदायिक अस्पताल, दुई नारायणी अस्पताल र ४१ औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ ।
त्यस्तै, तनहुँमा फेला परेका शवमध्ये नौ मणिपाल अस्पताल पोखरा, पाँच प्रादेशिक अस्पताल दमौली र १४ गण्डकी अस्पताल पोखरामा राखिएका छन् । गोरखामा भेटिएका शवमध्ये २९ प्रदेश अस्पताल गोरखा, ११ गण्डकी अस्पताल पोखरा र चार नुप अस्पताल गोरखामा राखिएको प्राधिकरणले जनाएको छ ।
नवलपरासी पूर्वमा फेला परेका शवमध्ये छ मध्यविन्दु नगर अस्पताल चोरमारा, ३६ गैँडाकोट नगर अस्पताल, २२ मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा, चार जिल्ला अस्पताल पाल्पा, दुई मिसन अस्पताल पाल्पा, दुई लुम्बिनी अस्पताल पाल्पा र ४१ गण्डकी अस्पताल पोखरामा राखिएको छ ।
पश्चिम नवलपरासीमा फेला परेका शवमध्ये आठ पृथ्वी चन्द्र अस्पताल परासी, ११ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, तीन भीम अस्पताल भैरहवा र छ पिपरा अस्पताल कपिलवस्तुमा राखिएका छन् ।
प्राधिकरणका अनुसार अन्य फेला परेका शवलाई पनि पायक पर्ने अस्पतालमा लैजाने तथा विभिन्न स्थानमा भेटिएका शव संकलन गरी सम्बन्धित स्थानमा पुर्याउने काम भइरहेको छ । खोज तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा बेपत्ता तथा मृतकको खोजीलाई निरन्तरता दिइरहेका छन् ।