काठमाडौं। सुनसरीमा विकसित पछिल्लो घटनाक्रमपछि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुव्यवस्था कायम राख्न सबै राजनीतिक दल एकमत भएका छन्। बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दलहरूबीच साझा धारणा बनेको र छिट्टै संयुक्त अपिल सार्वजनिक गरिने जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सुनसरीलगायतका जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए। नागरिकको ज्यान गएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले अनुसन्धान पूरा नहुँदासम्म अफवाह र भ्रममा नपर्न आग्रह गरे।
“नागरिकको ज्यान जानु अत्यन्त गम्भीर विषय हो, यसमा सुरक्षा निकाय जिम्मेवार हुनुपर्दछ। अहिले विभिन्न अफवाह र भ्रमहरू पनि फैलिरहेका छन्, त्यसैले अनुसन्धानको निष्कर्ष नआउन्जेल हतारमा टिप्पणी गर्नु उचित हुँदैन। कुनैपनि परिस्थितिमा साम्प्रदायिक सद्भाव खलबलिने, एक समुदायले अर्को समुदायप्रति घृणा वा द्वेष फैलाउने र आक्रमण गर्ने जस्ता गतिविधि हुनु देशका लागि हानिकारक छ,” लामिछानेले भने।
उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने विषयमा सबै राजनीतिक दल एक ठाउँमा उभिएको उल्लेख गर्दै छिट्टै संयुक्त अपिल सार्वजनिक गरिने बताए। आरोप–प्रत्यारोपभन्दा संयमता, संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए।