काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। मंगलबार ८३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका श्रेष्ठको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ।
सानेपामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, एमाले नेता प्रदीप ज्ञवालीलगायत विभिन्न राजनीतिक दलका नेता, कांग्रेसका नेता–कार्यकर्ता र शुभेच्छुकले पनि श्रद्धाञ्जली अर्पण गरे।
कार्यक्रममा कांग्रेस महामन्त्री गुरुराज घिमिरेले श्रेष्ठलाई नेपालको प्रजातान्त्रिक आन्दोलनको एक महत्वपूर्ण स्तम्भका रूपमा स्मरण गरे। “गोपाल दाइ नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा यस्तो स्तम्भ हुनुहुन्थ्यो, जसले प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा लामो समय योगदान गर्नुभयो,” उनले भने। लोकतान्त्रिक आन्दोलन, १२ बुँदे समझदारी र पार्टी संगठन निर्माणमा श्रेष्ठले पुर्याएको योगदान इतिहासमा सधैं स्मरणीय रहने उनले बताए।
विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय श्रेष्ठले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२–६३ को जनआन्दोलनमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका थिए। लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेलजीवन बिताएका उनी २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७० सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका थिए। उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माण, वन, उद्योग र शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका श्रेष्ठ २०६२ सालको ऐतिहासिक १२ बुँदे समझदारीका हस्ताक्षरकर्तामध्ये एक थिए।
यसैबीच, कांग्रेस केन्द्रीय कार्यसमितिले श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै साउन १३, १४ र १५ गते पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ। साउन १४ गते देशभरका पार्टी कार्यालय बन्द रहने तथा स्वर्गारोहणको १३औँ दिन श्रेष्ठको गृहजिल्ला स्याङ्जामा शोकसभा आयोजना गरिने कांग्रेसले जनाएको छ।