काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमपछि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुरक्षा कायम राख्न सरकार थप सक्रिय हुनुपर्ने बताएका छन्। यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्दै भीड नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै आयोजित सर्वदलीय बैठकलाई सकारात्मक पहलका रूपमा लिए पनि त्यसको नेतृत्व प्रधानमन्त्री स्वयंले गर्नुपर्ने बताए। सरकार र प्रधानमन्त्रीबाट हुनुपर्ने राजनीतिक पहल र समन्वय पर्याप्त नदेखिएको उनको भनाइ थियो।
सुनसरी घटनाका क्रममा सुरक्षा निकायको कार्यसम्पादनबारे गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले दंगा तथा भीड नियन्त्रणका क्रममा सुरक्षा संयन्त्र किन प्रभावकारी हुन सकेन भन्ने विषयमा सूक्ष्म अध्ययन हुनुपर्ने बताए।
“सुरक्षा निकायको मनोबल गिरेका कारण वा साधन–स्रोतको अभावमा यस्ता घटना भएका हुन्, त्यसको सूक्ष्म अध्ययन हुनुपर्छ। भविष्यमा मानवीय क्षति नहुने गरी भीड व्यवस्थापन गर्न सुरक्षा निकायको सामर्थ्य र क्षमता विकास गर्नु आजको अनिवार्य आवश्यकता हो,” पोखरेलले भने।
उनले कुनै पनि भ्रम वा अफवाहमा नपरी सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, सामाजिक संघसंस्था, धार्मिक अगुवा र स्थानीय समुदायलाई भूमिका खेल्न आग्रह गरे। विशेषगरी सुनसरीलगायत प्रभावित क्षेत्रमा सरकारले नागरिकले प्रत्यक्ष रूपमा राज्यको अभिभावकत्व महसुस गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।
नागरिकको सुरक्षा सबैको साझा दायित्व भएको उल्लेख गर्दै पोखरेलले न्यायको अपेक्षामा रहेका नागरिकलाई विश्वास दिलाउने र कसैले पनि असुरक्षित महसुस गर्न नपर्ने वातावरण निर्माण गर्न सरकार संवेदनशील बन्नुपर्ने बताए। सामाजिक सद्भाव, शान्ति र कानुनी शासन कायम गर्न सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवाला पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए।