काठमाडौं । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टीका सबै तहका कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।
मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ। बैठकले शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकप्रति समवेदना व्यक्त गर्दै यो अपूरणीय क्षति सहने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरेको छ।
कांग्रेसले जारी गरेको शोक प्रस्तावमा विद्यार्थी जीवनदेखि नै पार्टी राजनीतिमा सक्रिय रहेका श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना र सुदृढीकरणका लागि भएका सबै प्रमुख आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरेको छ। लोकतन्त्रका लागि संघर्ष गर्ने क्रममा उनले पटक–पटक गरी करिब छ वर्ष जेल जीवन बिताएको कांग्रेसले स्मरण गरेको छ।
शोक प्रस्तावमा श्रेष्ठले नेपाली कांग्रेसको संगठन निर्माण र सुदृढीकरणमा पुर्याएको योगदान, लोकतन्त्रप्रतिको अटल प्रतिबद्धता तथा सार्वजनिक जीवनमा दिएको योगदान पार्टी इतिहासमा सधैं स्मरणीय रहने उल्लेख छ। कांग्रेसले उनको निधनबाट पार्टीले एक अग्रज, अनुभवी र समर्पित राजनीतिज्ञ गुमाएको जनाएको छ।
वि.सं. २००४ असार ३१ गते स्याङ्जामा जन्मिएका श्रेष्ठ २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०७० सालमा भने उनी समानुपातिक निर्वाचन प्रणालीबाट संविधानसभा सदस्य बनेका थिए।
श्रेष्ठले उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य र शिक्षा मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए। उनी नेपाली कांग्रेस संसदीय दलका पूर्व प्रमुख सचेतक तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति पनि थिए। २०६२ सालको ऐतिहासिक १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने प्रमुख नेतामध्ये उनी एक थिए।
कांग्रेसले शोक कार्यक्रमअन्तर्गत साउन १३, १४ र १५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। साउन १४ गते केन्द्र, प्रदेश र जिल्लाका सबै पार्टी कार्यालय बन्द रहनेछन्।
यस्तै, स्वर्गारोहणको १३ दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राखिनेछ। १३औँ दिन गृह जिल्ला स्याङ्जाको कालिगण्डकीस्थित राम्दीघाटमा अस्तु विसर्जन गरिने र त्यसपछि जिल्लामा शोकसभा आयोजना गरिने कांग्रेसले जनाएको छ।