काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले लगातार छैटौँ कारोबार दिन पनि सकारात्मक गति कायम राखेको छ। मंगलबार नेप्से ७.२५ अंकले बढ्दै २ हजार ७२६ अंकमा पुगेको छ। यो स्तर जेठ २८ यताकै उच्च हो।
गत साताको मंगलबारदेखि शुक्रबारसम्म निरन्तर बढेको बजार सोमबार पनि ४१.७० अंकले उकालो लागेको थियो। त्यसपछि मंगलबार पनि सामान्य वृद्धि कायम रहँदा बजारले सकारात्मक लयलाई निरन्तरता दिएको छ।
मंगलबारको कारोबारमा १०३ कम्पनीका सेयर मूल्य बढेका छन् भने १६२ कम्पनीका सेयर मूल्य घटेका छन्। त्यस्तै, १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ।
कारोबार अवधिमा बजारमा उतारचढाव देखिएको थियो। नेप्से एक समय २ हजार ७५३ अंकसम्म पुगे पनि अन्तिम समयमा केही करेक्सन हुँदै २ हजार ७२६ अंकमा बन्द भएको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।
समूहगत परिसूचकमा भने मिश्रित अवस्था देखिएको छ। केही उपसमूहका सूचक बढ्दा केही समूहका सूचक घटेका छन्।