काठमाडौं – कर्णाली प्रदेशका विभिन्न जिल्लाका ९५३ जनाले गत आर्थिक वर्ष २०८२/८३ मा नि:शुल्क आँखाको शल्यक्रिया सेवा प्राप्त गरेका छन्। नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायमा सञ्चालन गरेका नि:शुल्क आँखा शिविरमार्फत उक्त सेवा उपलब्ध गराएको हो।
अस्पतालका बाह्य कार्यक्रम प्रमुख तथा नेत्र अधिकृत सुवास नेपालका अनुसार सो अवधिमा कर्णाली प्रदेशका १७ हजार ६४९ जनालाई आँखा स्वास्थ्य सेवा प्रदान गरिएको छ। तीमध्ये बाह्य कार्यक्रममार्फत सात हजार २१७ जनाको नि:शुल्क आँखा परीक्षण गरिएको थियो भने अस्पतालअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रमार्फत १० हजार ४३२ जनाले उपचार सेवा लिएका थिए।
हिमालय आँखा अस्पतालले कर्णाली प्रदेशमा चन्दननाथ आँखा अस्पताल (खलङ्गा–जुम्ला) तथा मान्म–कालीकोट, सिमकोट–हुम्ला, सिंजा–जुम्ला र गमगढी–मुगुमा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ। यी अस्पताल तथा उपचार केन्द्रसँगै समुदायस्तरमा सञ्चालन हुने बाह्य कार्यक्रम र शिविरमार्फत दुर्गम क्षेत्रका नागरिकलाई आँखा परीक्षण, उपचार, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध गराइँदै आएको अस्पतालले जनाएको छ।
अस्पतालकी प्रमुख मेडिकल निर्देशक डा. बबिता गुरुङका अनुसार गत आर्थिक वर्षमा अस्पतालको बहिरङ्ग विभागबाट मात्रै एक लाख ८८ हजार ९१४ जनाले आँखा उपचार सेवा लिएका छन्। सेवाग्राहीमध्ये एक लाख ६ हजार ४५९ महिला र ८२ हजार ४९८ पुरुष रहेका छन्। कुल सेवाग्राहीमध्ये करिब ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष छन्।
हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले कर्णालीमा विशेषज्ञ आँखा उपचार सेवालाई थप विस्तार गर्ने योजना अघि बढाइएको जानकारी दिए। उनका अनुसार जुम्लामा नियमित नेत्र विशेषज्ञ सेवा सञ्चालन गरिनेछ भने कर्णालीका अन्य तीन जिल्लामा ‘सर्जिकल सेन्टर’ स्थापना गरी स्थानीयस्तरमै आँखाको शल्यक्रिया सेवा उपलब्ध गराइने लक्ष्य राखिएको छ।
उनले भौगोलिक विकटता र यातायातको कठिनाइका कारण सामान्य आँखा उपचार तथा शल्यक्रियाका लागि टाढासम्म जानुपर्ने बाध्यता अन्त्य गर्न जिल्लास्तरमै विशेषज्ञ तथा शल्यक्रिया सेवा विस्तार गरिने बताए। यसबाट दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्ला वा नजिकैको सेवा केन्द्रबाट समयमै गुणस्तरीय उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
यसैबीच, नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पतालअन्तर्गत गण्डकी र कर्णाली प्रदेशमा सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूको वार्षिक कार्ययोजना तथा समीक्षा गोष्ठी हालै पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा आँखा अस्पताल तथा उपचार केन्द्रका प्रतिनिधि, नेत्र विशेषज्ञ, स्वास्थ्यकर्मी र सरोकारवालाको सहभागिता रहेको थियो।
गोष्ठीमा हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापा मगर, नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द, केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश सभापति प्रा. डा. दिलबहादुर क्षेत्री तथा कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले संघका गतिविधि, उपलब्धि र आगामी कार्ययोजनाबारे प्रस्तुति दिएका थिए।
कार्यक्रममा गत आर्थिक वर्षको प्रगति समीक्षा गर्दै आगामी वर्षका रणनीति तय गरिएको थियो। कार्यकारी निर्देशक डा. मिश्रले समुदायस्तरमा गुणस्तरीय आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार, दुर्गम क्षेत्रमा विशेषज्ञ तथा शल्यक्रिया सेवा सुदृढीकरण, आँखा उपचार केन्द्रहरूको क्षमता अभिवृद्धि तथा सेवा प्रभावकारिता बढाउने विषयमा छलफल भएको जानकारी दिए।
हिमालय आँखा अस्पतालले अस्पतालमा आधारित सेवासँगै आँखा उपचार केन्द्र, बाह्य कार्यक्रम तथा नि:शुल्क आँखा शिविरमार्फत गण्डकी र कर्णाली प्रदेशका नागरिकलाई निरन्तर आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ। विशेषगरी कर्णालीका दुर्गम जिल्लामा विशेषज्ञ तथा शल्यक्रिया सेवा विस्तारलाई आगामी कार्यक्रमको प्रमुख प्राथमिकतामा राखिएको अस्पतालले जनाएको छ।
सन् २०२५ सम्म पाँच करोडभन्दा बढीले पाए आँखा उपचार सेवा
नेपाल नेत्रज्योति संघका अनुसार स्थापना भएयता सन् २०२५ को अन्त्यसम्म संघका २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा र २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपालसहित विभिन्न देशका पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ। सो अवधिसम्म ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको संघले जनाएको छ।