काठमाडौँ । गत वैशाखदेखि हालसम्म देशभर भएका विभिन्न विपद्का घटनामा परी १६६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ वटा विपद्का घटना भएका छन् ।
विपद्का कारण ९८८ जना घाइते भएका छन् भने चार हजार ५३१ घरपरिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन् ।
तथ्यांकअनुसार चार महिनामा ९१४ वटा आगलागीका घटना भएका छन् । त्यस्तै, सर्पदंशका ५३५, पहिरोका ४९५, हुरीबतासका ४७८, चट्याङका २२९, जनावर आक्रमणका १९०, बाढीका १७१ र भारी वर्षाका १६६ वटा घटना भएका छन् ।
यसैगरी, डढेलोका १९१, लेक लाग्ने ५५, हिउँपहिरोका दुई, असिनाका चार, डुङ्गा पल्टिएका एक र अन्य चार वटा विपद्का घटना भएका छन् ।
यसबीच साउन २ गते बिहानदेखि साउन ३ गते बिहानसम्म मात्रै देशभर ५८ वटा विपद्का घटना भएका छन् । उक्त अवधिमा विपद्का कारण तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार ४५ जिल्ला विपद्बाट प्रभावित भएका छन् ।