काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ रहेको छ ।
विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा तथा कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।