चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सोमबार बिहान २:२० बजे पहिरो गएसँगै उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बिहान ८:०० बजेसम्म पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ।
अत्यधिक वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि आइतबार रातिदेखि बन्द गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड र चितवन क्षेत्रको पृथ्वी राजमार्ग पहिरो हटाएपछि मात्र पुनः सञ्चालनमा आउने जनाइएको छ।
स्थानीय प्रशासनले सम्भावित पहिरो जोखिमलाई मध्यनजर गर्दै आइतबार राति १०:०० बजेदेखि नै सवारीसाधन आवागमनमा रोक लगाएको थियो।