काठमाडौँ । लगातारको वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्, जसका कारण सवारी आवागमन प्रभावित भएको छ। ट्राफिक प्रहरीले पानी जमेका सडकमा विशेष सावधानी अपनाएर मात्र सवारी सञ्चालन गर्न चालकलाई आग्रह गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार समग्र ट्राफिक व्यवस्थापन सामान्य रहे पनि सडकमा पानी जम्दा दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढेको छ। उहाँले पानी जमेका स्थानमा सवारीसाधन एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना हुने भएकाले दुर्घटनाको सम्भावना बढ्ने बताए।
“आज सार्वजनिक बिदा भएकाले ट्राफिक व्यवस्थापन केही सहज भएको छ। तर सडकमा पानी जमेकाले सवारी सञ्चालनमा थप सतर्कता आवश्यक छ। एउटै लेनबाट सवारी चलाउनुपर्ने भएकाले चालकले विशेष सावधानी अपनाउनुपर्छ,बताए।
सुवेदीका अनुसार वर्षाका कारण आज साँझ माइतीघर, अनामनगरलगायत उपत्यकाका विभिन्न क्षेत्रमा सडक जलमग्न भएको छ। उहाँले यस्तो समस्या दीर्घकालीन रूपमा समाधान गर्न प्रभावकारी ढल तथा पानी निकास व्यवस्थापन आवश्यक रहेको बताए।
ट्राफिक प्रहरीले वर्षायाममा पानी जमेका सडकमा तीव्र गतिमा सवारी नचलाउन, सुरक्षित दूरी कायम गर्न र ट्राफिक प्रहरीको निर्देशनको पूर्ण पालना गर्न सबै चालकलाई अनुरोध गरेको छ।