नयाँ दिल्ली। बुधबार भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरमा रहेको फ्लोरिश स्टे रेस्टुरेन्टबाट आगलागी सुरु भएर तीव्र रूपमा फैलिँदै माइ कासा इन होटलसम्म पुग्दा २१ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आगलागीमा परी अन्य धेरै व्यक्ति घाइते भएका छन् । अग्नि नियन्त्रण विभागका एक अधिकारीले ३५ जनाभन्दा बढीको उद्धार गरिएको जानकारी दिएका छन् । उद्धार गरिएका व्यक्तिहरूलाई उपचारका लागि स्थानीय तीनवटा अस्पतालमा भर्ना गरिएको छ ।
अधिकारीहरूकाअनुसार होटलको भुइँतलाबाट शुरु भएको आगो द्रुत गतिमा भवनको माथिल्लो तलासम्म फैलिएको थियो । उक्त होटल स्वीकृत मापदण्डविपरीत निर्माण गरिएको पाइएको छ । ६ वटा कोठाका लागि मात्र अनुमति प्राप्त सो बहुतले भवनमा नियमविपरीत २५ वटा कोठा बनाइएको स्रोतले जनाएको छ । एक प्रत्यक्षदर्शीका अनुसार होटलमा आपत्कालीन निकासको उचित व्यवस्था नभएका कारण आगलागीका बेला मानिसहरू ज्यान जोगाउन माथिल्लो तलामा भागेका थिए । ज्यान जोगाउने क्रममा केही व्यक्तिहरूले भवनबाट हामफालेको समेत देखिएको थियो।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत यस दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।