कुवेत। कुवेतको रक्षा मन्त्रालयले आफ्नो देशको हवाई क्षेत्रमा प्रवेश गरेका १३ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र १७ वटा ड्रोनलाई सशस्त्र फौजले सफलतापूर्वक निष्कृय पारेको जनाएको छ ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता साउद अल–अतवानले विभिन्न आवासीय क्षेत्रमा देखिएका ती क्षेप्यास्त्र र ड्रोनहरूलाई सेनाले बीचैमा रोकेको जानकारी दिए । प्रवक्ता अल–अतवानकाअनुसार सेनाले ती हातहतियारलाई आकाशमै नष्ट गरे पनि त्यसका केही अवशेषहरू विभिन्न स्थानमा खसेका छन् । कुवेतले यस घटनालाई खाडी मुलुकमाथि इरानले गर्दै आएको निरन्तर आक्रमणको एक हिस्सा भएको दाबी गरेको छ। राष्ट्रिय सुरक्षाको रक्षाका लागि सशस्त्र बललाई उच्च शतर्कतामा राखिएको समेत मन्त्रालयले जनाएको छ ।
यसैबीच, कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–४ बाट हुने कुवेत एयरवेजका सबै उडानहरू पुनः सुचारु भएको घोषणा गरेको छ । यसअघि भएको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको र ६३ जना घाइते भएपछि उडान सेवा प्रभावित भएको थियो । विमानस्थलका भौतिक संरचनामा क्षति पुगेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बुधवार बिहान हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको थियो । विशेषज्ञ टोली र सम्बन्धित अधिकारीहरूले विस्तृत प्राविधिक मूल्याङ्कन र निरीक्षण गरी टर्मिनलको सुरक्षा अवस्था सुनिश्चित गरेपछि उडान सेवा पुनः सञ्चालनमा ल्याइएको डीजीसीएले उल्लेख गरेको छ ।