वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धसम्बन्धी वार्ताका लागि तय गरिएको अमेरिकी अधिकारीहरूको पाकिस्तान भ्रमण अन्तिम समयमा रद्द गरेका छन् । विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरको भ्रमण समयको बर्बादी हुने भन्दै ट्रम्पले इरानले वार्ता चाहेको भए आफैँ सम्पर्क गर्नुपर्ने बताएका छन् ।
यसअघि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इस्लामावादमा मध्यस्थ पाकिस्तानसँग छलफल गर्दै युद्ध अन्त्यको आफ्नो प्रस्ताव राखेका थिए, तर अमेरिकाको कूटनीतिक प्रतिबद्धता अझै स्पष्ट नभएको बताए ।
यद्यपि, ट्रम्पले २२ अप्रिलमा सकिएको युद्धविराम अवधि थपेर वार्ताको अवसर दिएका थिए, दुवैपक्षबीच प्रगति हुन सकेको छैन । स्ट्रेट अफ होर्मुजमा तनाव चर्किएको छ, जहाँबाट विश्वको करिब एक–पाँचौँ तेल आपूर्ति हुने गर्छ । अमेरिका र इजरायलको आक्रमणपछि इरानले मार्गमा नियन्त्रण कडा बनाएको छ भने अमेरिकाले नौसैनिक उपस्थिति बढाएको छ ।
अमेरिकाले इरानसँग प्रत्यक्ष वार्ताको सम्भावना औँल्याए पनि इरानले त्यस्तो कुनै योजना नरहेको जनाएको छ । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले वार्तामा खुला रहेको तर प्रतिबन्ध र धम्की मुख्य अवरोध भएको बताएका छन् ।
पछिल्ला हप्तामा पाकिस्तानले दुवैपक्षबीच मध्यस्थता गर्दै आएको छ, तर ११ अप्रिलमा भएको छलफल पनि सहमतिविना टुंगिएको थियो ।