पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सञ्चालन भएको छ । विमानस्थलबाट अमरसिंहचोकसम्म बसले यात्रुलाई सेवा दिनेछ । तत्कालका लागि असारसम्म निःशुल्क रूपमै सेवा दिने र त्यसपछि न्यूनतम मूल्य निर्धारण गरेर सेवा सञ्चालन हुने पोखरा महानगरपालिकाले जनाएको छ।
महानगर यातायात बस सेवा प्रालिको २ वटा गाडीलाई पोखरा महानगरले व्यवस्थापन गरेर सेवा दिइएको छ । त्यसमा कामना सेवा विकास बैंक र कृषि विकास बैंकले साझेदारी गरेका छन् । महानगरका प्रवक्ता मोति तिमिल्सिनाका अनुसार असारसम्म मात्रै झण्डै १७ लाख लागत अनुमान गरिएको छ।
यो सेवा बिहान पहिलो उडानदेखि बेलुका अन्तिम उडानसम्म उपलब्ध हुने उनले सुनाए । हाल दुई वटा बसहरू सञ्चालनमा ल्याइएको छ । ‘असारसम्म त पूर्ण रूपमा नै निःशुल्क हो । त्यसपछि सेवाको प्रभावकारिता हेरेर न्यूनतम शुल्क तोकिनेछ,’ उनले भने।
दुई वटै बसहरू विद्युतीय र सुविधायुक्त छन् । एउटा बसको मूल्य करिब १ करोड २४ लाख रुपैयाँ लागेको प्रालिले जनाएको छ । पोखरालाई स्मार्ट सिटी र ग्रिन सिटी बनाउने अवधारणा अनुरूप विद्युतीय सवारीलाई प्रोत्साहन दिने र विमानस्थलबाट आउजाउ गर्ने यात्रुहरूलाई सहज र सस्तो सेवा प्रदान गर्ने महानगरले दाबी गरेको छ ।
ट्याक्सीको महँगो भाडा र रातिको समयमा हुने असुविधाबारे व्यापक गुनासो बढेको थियो । बसको मंगलबार एक कार्यक्रमका बिच मेयर धनराज आचार्यले शुभारम्भ गरे।