झापा, १० कात्तिक । आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा झापाको भद्रपुर नगरपालिका-५ देविवस्तीमा सिटीसफारी चालकको निधन भएको छ ।
शुक्रबार (हिजो) दिउँसो १:०० स्थानीय ३६ वर्षका शम्भु सहनीले आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण कुमार चन्दले केटिएम दैनिकलाई बताए ।
घाइते भएका सहनीलाई श्रीमतीले उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगेकोमा थप उपचारको लागि ओम साई पाथिभारा अस्पताल लगिएको थियो । उपचारकै क्रममा सहनीको शुक्रबार राती १०:०० बजे निधन भएको डिएसपी चन्दले बताए ।
तीन महिनाको अवधिमा झापामा सिटी सफारी चार्ज गर्ने क्रममा तीनजनाको निधन भइसकेको छ ।
गत असोज ८ गते झापाको दमकमा २६ वर्षीय कमल बुर्जामगर र भदौ ३१ गते गौरीगञ्ज गाउँपालिका-२ मा ३३ बर्षीय महेश राजबंशीको निधन भएको थियो ।