विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। विश्वासको मत प्रयोजनका लागि प्रदेशसभा बैठक दिउँसो २ बजे बोलाइएको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए।
नेपाली कांग्रेसले यही भदौ ३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री नियुक्त भएयता कार्कीले विश्वासको मत लिन लागेको यो तेस्रोपटक हो।
कार्की २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि उनले वैशाख ३१ गते पहिलोपटक प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। एमाले र तत्कालीन माओवादी केन्द्रबीचको गठबन्धन टुटेर कांग्रेससँग नयाँ गठबन्धन बनेपछि उनले २०८१ असोज २ गते दोस्रोपटक विश्वासको मत लिएका थिए।
हाल ९२ सदस्य कायम रहेको कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक छ। प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाका सभामुखसहित ५ र जसपाका १ सांसद छन्।
यसैबीच, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको नयाँ सहमतिअनुसार प्रदेश सरकार पुनर्गठन गरिएको छ। पुनर्गठित सरकारका नयाँ मन्त्रीहरूले गत सोमबार पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।