(दमक) झापा, ८ असोज । आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको निधन भएको छ ।
मङ्गलवार बिहान ९:३० बजे दमक नगरपालिका-८ मा सिटी सफारी चार्ज गर्ने उक्त सिटी सफारी चालक २६ वर्षीय कमल बुर्जामगरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण कुमार चन्दले केटिएम दैनिकलाई बताए ।
आफू डेरा बस्ने घरमा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका बुर्जामगरलाई तत्काल उपचारको लागी दमक अस्पताल दमक लगिएकोमा थप उपचारको क्रममा बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डिएसपी चन्दले बताए ।
इलाम माई नगरपालिका-५ घर भएका मृतक दमक नगरपालिका-८ डेरा लिएर बस्ने गर्दथे ।
भदौ ३१ गते पनि झापाको गौरीगञ्ज गाउँपालिका-२ मा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर चालकको निधन भएको थियो ।