
सप्तरी, ४ कात्तिक । आज साँझ गाईघाटबाट काँकडभिट्टातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै निधन भएको छ ।
आइतबार साँझ ६:३० बजे सप्तरीको कन्चनरुप-३ बरमझिया स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको प्र१-०१-००१ ख ४१२६ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको स ५ प १५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित पल्टेको थियो ।
उक्त दुर्घटनामा बसमा सवार धनकुटा साँगुरीगढी गाउँपालिका-४ बस्ने नबिन लिम्बू को श्रीमती अन्दाजी ५४ बर्सिया मैयाँ राईको घटनास्थलमा नै मृत्यु भएको हो । मृतक राईको शव पोस्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सप्तरी पठाइएको छ।
दुर्घटनामा बसमा सवार २७ जना घाइते भएकोमा १३ जनालाई डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्र कुमार बस्नेतले केटिएम दैनिकलाई बताए ।
दुर्घटनामा संलग्न मोटरसाइकलका चालक कंचनरुप-३ बस्ने २६ वर्षका सुमित पण्डितको शरीरको विभिन्न भागमा चोट देखिएको छ । उनको अवस्थामा चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते पण्डितसहित १२ जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । त्यस्तै घाइते उदयपुर त्रियुगा नगरपालिका-९ बस्ने रबिना बस्नेतको बिराट टिचिङ अस्पताल र सप्तरी सुरुङगा नगरपालिका-२ बस्ने याम देवी कटुवालको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न बस चालक फरार छन् । फरार चालकको तीव्र रूपमा खोजतलास भइरहेको डिएसपी बस्नेतले बताए । दुर्घटनामा संलग्न बस र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेका छन् ।
घाइतेको विवरण