बागलुङ, २८ भाद्र । मध्यपहाडी लोकमार्गमा आज बिहान सरकारी पिकअप गाडी दुर्घटना हुदाँ निधन भएका तीनजनाकै शव बाहिर निकालिएको छ । घटनास्थलबाट सवै शवहरू निकालेर नगर अस्पताल हरिचौर गलकोट लगिएको प्रहरीले जनाएको छ ।
बागलुङ गलकोट नगरपालिका-२ भुङखानी स्थित मध्यपहाडी लोकमार्गमा रा.१.झ.२०० नम्बरको सरकारी पिकअप गाडी सडक देखी अन्दाजी ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।
उक्त गाडी रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको भएको र निधन भएकामध्ये एकजना सोही गाउँपालिकाको उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्र बुढा मगर रहेको यसअगाडि नै पुष्टि भइसकेको छ ।
पिकअप गाडीमा सवार चारजनामध्ये तीनजनाको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) विजय यादवले जानकारी दिए ।
मृतकमध्ये एक महिला र पुरुषको परिचय खुल्न बाँकी नै छ । दुर्घटनामा घाइते भएका व्यक्ति सवारी चालक भएको खुलेको डिएसपी यादवले बताए । उनले केटिएम दैनिकसँग भने, ‘घाइते रुकुम पूर्व भुमी गाउँपालिका-३ घर भएका २९ वर्षका प्रेम बहादुर पुन भएको खुलेको छ । उनको टाउकोमा चोट लागेको छ । अवस्था गम्भिर छ । अहिले उनलाई धौलागिरी अस्पताल ल्याइएको छ ।’
र यो पनि : मध्यपहाडी लोकमार्ग दुर्घटना: मृतक गाउँपालिका उपाध्यक्ष रहेको पुष्टी