पर्सा, २३ भाद्र । जिल्ला सुरक्षा समिति पर्साले ध्वनि प्रदूषण नियन्त्रण गर्न डिजे (लाउडस्पिकर) बजाउन रोक लगाएको छ ।
ध्वनि प्रदूषणको प्रभावलाई न्यूनीकरण गर्न आवश्यक देखिएको हुँदा जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार एक सूचना जारी गर्दै अनावश्यक रूपमा ध्वनि प्रदूषणका सामग्री सञ्चालनमा रोक लगाएको हो ।
पर्सा जिल्ला भित्र हुने विभिन्न राजनैतिक तथा धार्मिक-सांस्कृतिक कार्यक्रम, चार्डपर्व, धार्मिक र्याली, जुलुस, सम्मेलन, बैठक वा प्रचार प्रसारात्मक क्रियाकलाप गर्दा मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डि.जे, स्पिकर, लाउड स्पिकरहरू ठुलो स्वरले बजाउने, आतिसवाजीहरू गर्ने जस्ता क्रियाकलापहरूमा रोक लगाइएको हो ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले चर्को ध्वनी बजाउनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक भारतीले केटिएम दैनिकलाई बताए ।
सूचनाको बर्खिलाप गरी यस्ता कार्यहरू गरेमा कानून बमोजिम कारवाही भई जाने चेतावनी समेत दिइएको छ ।