रौतहट, १९ भाद्र । श्रोत नखुलेको चार लाख रुपैयाँ नगदसहित नेपाल भारत सीमाबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
आज बिहान १०:०० बजेको समयमा नेपाल भारत सिमाना नजिक दक्षिण भारततर्फबाट उत्तर नेपालको गौर बजारतर्फ पैदल हिँडेर आउँदै गरेको भारतीय नागरिकको साथबाट उक्त रकम बरामद भएको हो ।
रकम लिएर आउने भारतको सितामढी, थाना बैरगनिया-११ घर बताउने अन्दाजी १९ वर्षका सत्यम भन्ने अनिकेत राजलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीका अनुसार फुटबल खेल्दा घुँडामा लगाउने एन्कलेट (इलास्टिक) भित्र र जुत्ताको तल लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका व्यक्तिले रकमको श्रोत खुलाउन नसकेको हुनाले उनलाई नियन्त्रणमा लिइएको डिएसपी गिरीले बताइन् ।
उनले केटिएम दैनिकसँग भनिन, ‘दुवै खुट्टामा फुटबल खेल्दा घुँडामा लगाउने एन्कलेट (इलास्टिक) भित्र ५०० दरका दुई वटा बण्डल र जुत्ता भित्र एक हजार दरका तीनवटा बण्डल राखेर ल्याएको भेटियो । बरामद भएको चार लाख रुपैयाँको आवश्यक कागजात माग गर्दा श्रोत खुलाउन नसकेकोले सो रकम र सहित निज अनिकेत राजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।’