बागलुङ, १८ भाद्र । नेकपा (एकीकृत समाजवादी) बागलुङको पुरै जिल्ला कमिटी एमालेमा समाहित भएसँगै पार्टीको साइनबोर्ड हटाइएको छ ।
बिहीबार (भाद्र १३ गते) एक कार्यक्रमका बीच समायोजन कार्यक्रम गरेर एकीकृत समाजवादीका नेताहरूलाई एमालेले पार्टीमा भित्र्याएको थियो ।
बागलुङमा एकीकृत समाजवादी नै नरहेपछि उक्त पार्टीको कार्यालय अगाडि राखिएको साइनबोर्ड आज हटाइएको छ ।
एमालेमा समाहित भएका नेकपा एसका विभिन्न तहमा रहेका नेता कार्यकर्ताहरूलाई विधानका परिधिभित्र रहेर पूर्ववत् जिम्मेवारीमा पुनर्स्थापित गर्ने र नयाँ जिम्मेवारी दिनुपर्नेलाई पार्टीका स्थापित मूल्य, मापदण्ड र योग्यताका आधारमा उपयुक्त एवं यथोचित जिम्मेवारी प्रदान गरिने बताइएको छ ।
समायोजन कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्माले नेतृत्वले जुन उद्देश्यले एमालेबाट विद्रोह गरेर समाजवादीको जन्म भएको थियो त्यसको औचित्य प्रमाणित गर्न नसकेको कारण आफू एमालेमा फर्किएको बताएका थिए ।