कौशलटार (भक्तपुर), ३१ श्रावण । भक्तपुरको गठ्ठाघरमा आज दिउँसो ट्राफिक प्रहरीले चेकजाँचको क्रममा रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिएको छ ।
काठमाडौंबाट भक्तपुरतर्फ तीब्र गतिमा आइरहेको ना.६ ख २१७३ नम्बरको ट्रकले ट्राफिक प्रहरीले चेकजाँचको लागि रोकिरहेको बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि करिब १०० मिटरसम्म घिसारेको भक्तपुर प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म सोहोरेर लाँदा स्कुटरमा सवार महिलाको शरीर क्षतविक्षत भएको छ ।
स्कुटर चालक महिला भएको बुझिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी राजन कार्कीले केटिएम दैनिकलाई बताए ।
ज्यान गुमाएकी महिलाको पहिचान खुलिसकेको छैन । घटनास्थलमा ज्यान गुमाएकी महिलाको झोला भेटिएको छ । उनी कलेजकी विद्यार्थी हुनसक्ने आशंका गरिएको छ ।
अहिले गठ्ठाघर क्षेत्र तनावग्रस्त भएको छ । स्थानीयले दुर्घटनामा संलग्न ट्रकलाई तोडफोड गरेका छन् भने प्रहरीमाथि ढुंगामुढा प्रहार भएको भिडिओ बाहिरिएका छन् ।
दुर्घटनामा संलग्न ट्रकलाई स्थानीयले आगो लगाएका छन् । अहिले भने आगलागी नियन्त्रणमा लिइएको डिएसपी कार्कीले बताए ।
सच्चाइएको : बिहीबार साँझ जिल्ला प्रहरी परिसर भक्तपुरले विज्ञप्ती जारी गर्दै निधन हुने व्यक्ति महिला नभएर ४०/४५ वर्षको जस्तो देखिने पुरुष रहेको जनाएको छ ।