भक्तपुर, २३ श्रावण । आज दिउँसो भक्तपुरको गठ्ठाघरमा भएको सडक दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
आज दिउँसो १:४० बजेको समयमा मध्यपुरठिमी-३ गठ्ठाघरमा काठमाण्डौंबाट भक्तपुर तर्फ आँउदै गरेको ना. ६ ख. २१७३ नम्बरको ट्रकले सोहीदिशा तर्फ आउँदै गरेको बा. ४९ प. ८९४४ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा स्कुटी चालक अन्दाजी ४०/४५ बर्षको पुरुषको मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले बताए ।
यसअगाडि केटिएम दैनिकसँगको कुराकानीमा डिएसपी कार्कीले मृतक महिला भएको बुझिएको बताएका थिए ।
ट्राफिक प्रहरी चेकिङको क्रममा रोकेको स्कुटरलाई तीब्र गतिमा आएको ट्रकले ठक्कर दिएको भएतापनि भक्तपुर प्रहरीले जारी गरेको विज्ञप्ती यसबारे मौन छ ।
दुर्घटनापछि स्थानीयको अवरोधका कारण केही घण्टा गठ्ठाघरक्षेत्र तनावग्रस्त बन्न पुग्यो ।
भीड नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड हवाई फायर समेत गर्नुपरेको डिएसपी कार्कीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
अनियन्त्रित भएको भीडमा परेर जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक बेद बिष्ट, परिसर भक्तपुरमा कार्यरत सहायक हवल्दार बहादुरे राउत र मध्यपुरठिमी-३ गठ्ठाघर बस्ने सौगात सापकोटा घाइते भएका थिए । उनीहरूको अवस्था अहिले सामान्य छ ।
भिड नियन्त्रणमा लिनको लागि जिल्ला प्रहरी परिसर भक्तपुरबाट ११८ जनाको प्रहरी टोली, काठमाण्डौ स्थित नेपाल प्रहरीका विभिन्न कार्यालयहरुबाट १३० जनाको थप टोली र सशस्त्र प्रहरीको १२० जनाको प्रहरी टोली समेत खटिएको बताइएको छ ।
दुर्घटना भएको तीन घण्टापछि मात्र प्रहरीले सडकबाट शव उठाउन सफल भएको हो । शव पोस्टमार्टमको लागि टिचिङ अस्पताल, काठमाण्डौ लगिएको छ ।
भीडले गठ्ठाघर चोकमा रहेको ट्राफिक आईल्याण्ड र छेउमा रहेको प्रहरी विट आक्रमण गरेको छ ।
स्थानीयले दुर्घटनामा संलग्न ट्रकमा आगजनी गरेपछि दमकल ल्याएर उक्त ट्रकमा लागेको आगो निभाइएको थियो । ट्रकलाई अहिले काठमाण्डौ उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नं. २ महाराजगन्ज, काठमाण्डौमा राखिएको छ भने ट्रक चालक जिल्ला सर्लाही मलंगवा नगरपालिका-२ बस्ने बर्ष ३२ को सतेन्द्र श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनामा परेको स्कुटर प्रहरी वृत्त ठिमीमा राखिएको छ ।