काठमाडौँ, २१ श्रावण । अहिले चर्चाको केन्द्रमा रहेको प्रभु बैंकको झापा शाखामा भएको घटनाको बारेमा बैंकले स्पष्टीकरण दिएको छ ।
झापा बिर्तामोड निवासी मञ्जु कुमारी नेपालले बिर्तामोड शाखामा जम्मा गरेको ‘फिक्स डिपोजिट’ रकम झिक्न जाँदा बैंकमा पैसा नभएको प्रतिक्रिया आयो । नेपालले ६ महिनाअघि १ करोड १० लाख रुपैयाँ बिर्तामोड शाखामा जम्मा गरेको कागजातहरु सहित दावी गरिरहेकी छन् ।
श्रावण १६ गते बिर्तामोड-५ मा रहेको मम फ्याक्ट्रीका सञ्चालक टीकाराम नेपालले आफ्नो श्रीमती मञ्जु नेपालका नाममा प्रभु बैंक बिर्तामोड शाखामा राखेको मुद्दती खाताको रकम गायव भएको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए ।
पत्रकार सम्मेलन गर्ने नेपाल पेशाले सञ्चारकर्मी हुन् । उनी सूर्योदय टेलिभिजनका कार्यक्रम निर्माता हुन् ।
सोही विषयलाई लिएर बैंकले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै मुद्दति रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत एवम् नक्कली भनेको छ ।
यस सम्बन्धमा थप छानबिन भइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषीमाथि कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको बैंकले स्पष्ट पारेको छ ।
बैंकको कोशी प्रदेश प्रमुख बद्री कुमार कटवालले भनेका छन्, ‘आवश्यक छानबिन तथा प्रचलित कानुन बमोजिमको कारबाही पश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागी दोषी उपर ठहरे बमोजिमको कारबाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको छ ।’
बैंक र बैंकका कर्मचारीहरु माथि नै विश्वास गुम्ने यो घटनाबारे चाँडोभन्दा सार्वजनिक गर्न जरुरी रहेको आम नागरिकको धारणा छ ।
यस घटनाले केही प्रश्न उब्जाएको छ । बैंकले दिने मुद्दति रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली वा सक्कली कसरी चिन्ने ? कुन कर्मचारीले दिएको मुद्दति रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट सक्कली हो भनेर कसरी छुट्टाउने ?
रकम अपचलनको आरोप लागेका बैंकको सोही शाखाका मार्केटिङ म्यानेजर प्रमोद सिटौंला भने फरार छन् ।
झापाको चन्द्रगढी निवासी सिटौंलाको खोजी तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।