धनगढी, ४ भाद्र । आफूले पढाउने विद्यार्थी (छात्रा) लाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढीको नमूना प्राविधिक माध्यमिक विद्यालयका शिक्षक बिष्णु तिमिल्सेनालाई आइतबार पक्राउ गरेर आज सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार तिमिल्सेनाले आफ्नै विद्यार्थीलाई बहिनी बस्ने कोठामा बोलाएर यौन दुर्व्यवहार गरेका थिए ।
प्रहरीका अनुसार घटना श्रावण ३० गतेको हो ।
पक्राउ परेका शिक्षक तिमिल्सेनाको स्थायी घर बाजुरा त्रिवेणी नगरपालिका-७ हो । उनी कैलाली स्थित धनगढी उप-महानगरपालिका-८ मा डेरा गरी बस्ने गर्दथे ।
उनीमाथि बाल यौन दुरुपयोग मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।