- दीपबहादुर बडुवाल (दीपक)
यहाँ म तपाईंहरुलाई तीन वटा त्यस्ता प्रश्नहरू बताउन जाँदै छु जसले तपाईँलाई सफलताको नजिक लगेर जानेछन् । तर यी तीन वटा प्रश्न तपाईँले आफैलाई सोधेर यी प्रश्नको जवाफ खोज्नु पर्ने हुन्छ ।
महान् अर्थशास्त्री र शिक्षाविद् आचार्य चाणक्य, जसको ज्ञानको अघि संसार झुक्न बाध्य थियो । उनले नीति शास्त्रमा जीवनसँग सम्बन्धित धेरै पक्षहरूको उल्लेख गरेका छन् । जसमा चाणक्यले धन, सम्पत्ति, व्यवसाय, प्रगति र स्वास्थ्य सम्बन्धी धेरै समस्याहरूबाट जोगिन यस्ता तरिकाहरू बताएका छन् जसको अनुसरण गरेर सफलता अवश्य पाउन सकिन्छ ।
चाणक्य भन्छन् कि हामी प्रायः कुनै पनि कामको बारेमा विस्तारमा सोच विचार नगरी त्यसमा लागि पर्छौँ त्यसैले हामी हाम्रो सफलताबाट टाढा पुग्छौँ वा हामी सफल हुन्छौ कि हुँदैनौ भनेर सोचिरहन्छौँ । चाणक्य भन्छन् कि कुनै पनि नयाँ काम सुरु गर्नु अघि, एउटा व्यक्तिलाई तीन प्रश्नहरूको उत्तर जान्नु महत्त्वपूर्ण हुन्छ ।
१. पहिलो प्रश्न: यो काम किन गरिनु पर्छ ?
जबसम्म कुनै काम गर्नु पछाडिको उद्देश्य स्पष्ट हुँदैन, त्यो गर्नु हुँदैन । अस्पष्टता, अज्ञानता र भ्रमको स्थितिमा काम गर्दा तपाईँ असफलता र गल्तीहरूतर्फ डोर्याउनुहुन्छ । तपाईँलाई यस्तो काममा कहिल्यै सफलता प्राप्त हुँदैन । कामको व्यवहारमा व्यक्तिको नियन्त्रण हुँदैन । त्यसैले यो महत्त्वपूर्ण हुन्छ कि तपाईँले जे गरिरहनु भएको छ, त्यो किन गर्दै हुनुहुन्छ, यो कुरा दिमागमा सबै भन्दा पहिले स्पष्ट हुनुपर्दछ ।
२. दोस्रो प्रश्न: कामको नतिजा कस्तो हुनेछ ?
चाणक्य भन्छन् कि तपाईँले जे पनि काम गरिरहनु भएको छ त्यसको उद्देश्यका साथ यो पनि महत्त्वपूर्ण छ कि त्यो कामको नतिजा के हुनेछ । त्यसलाई गर्नु अघि यो जान्नु धेरै महत्त्वपूर्ण छ । कुनै पनि काम सुरु गर्दा त्यसको अल्पकालीन र दीर्घकालीन परिणाम दुइटैलाई जान्न जरूरी छ । व्यक्तिगत लाभको दायरामा गरिएको कामको दीर्घकालीन परिणाम राम्रो नहुन सक्छ । अन्तमा यसले दुःख मात्र दिन्छ । त्यसैले प्रत्येक व्यक्तिले कुनै काम सुरु गर्नु अघि परिणामको बारेमा सोच-विचार गरिहाल्नुपर्छ ।
३. तेस्रो र अन्तिम प्रश्न: के म सफल हुन सक्छु?
चाणक्य भन्छन् कि सब भन्दा महत्त्वपूर्ण प्रश्न हाम्रो आफ्नै क्षमता र इच्छाशक्ति सँग सम्बन्धित छ । कामको उद्देश्य र नतिजा विचार गरेपछि हामीले आफ्नो सफलतालाई पनि विचार गर्नुपर्छ । किनकि यो आजको युगका लागि सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो । प्रायः मानिसहरूले आत्म-मूल्याङ्कन (Self-Assessment) नगरी कुनै पनि कामको सुरुआत गरिहाल्छन् र केही समय पछि तिनीहरू आफैँ हार स्वीकार गरेर बसिहाल्छन् । त्यसैले यो महत्त्वपूर्ण छ कि पहिले हामी आफैलाई यो प्रश्न सोधि हालौँ कि के हामी आफ्नो यस नयाँ लक्ष्यको सब भन्दा कठिन यात्राको लागि तयार छौँ ?
विश्वास गर्नुहोस्, यदि तपाईँले इमानदारीताका साथ यी प्रश्नहरूको जवाफ फेला पार्नुभयो र कुनै नयाँ काम सुरु गर्नुभयो भने, संसारमा कुनै पनि शक्तिले तपाईँलाई सफल हुनबाट रोक्न सक्दैन, तपाईँ आफैले पनि सक्नुहुन्न ।