काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी महिलाको गलामा लगाइएको सुनको सिक्रीसहित लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् ।
भदौ २५ गते दिउँसो पैदलयात्रा गरिरहेकी अफ्सरा श्रेष्ठले घाँटीमा लगाएको अन्दाजी दुई तोला बराबरको सुनको लकेट सहितको सिक्री लुटिएको थियो ।
श्रेष्ठको घर काभ्रे पाँचखाल नगरपालिका-१२ बालुवा भएतापनि उनी हाल काठमाडौंको कुलेश्वरमा बस्दै आइरहेकी थिइन् ।
मोटरसाइकल चढेर आएका दुई व्यक्तिमध्ये पछाडी सवार व्यक्तिले महिलाको घाँटीबाट सिक्री लुटेर फरार भएका थिए ।
उक्त घटनामा अनुसन्धानको क्रममा संलग्न चार जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट हिजो (आइतबार) पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
उनीहरूको साथबाट लुटिएको सुनको सिक्री समेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२८ बागबजार ठेगाना भएका ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगंज महानगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनवर हुसेन अंसारी रहेका छन् ।
गुरुङ मोटरसाइकल चालक र अन्सारी मोटरसाइकलको पछाडि बसेर सिक्री तान्ने कार्यमा संलग्न रहेको अनुसन्धानको क्रममा खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
त्यस्तै पक्राउ पर्ने अन्य दुई जनामा लुटिएको सुन विक्री गर्न सहयोग गर्ने भारत पश्चिम बंगाल मेधिनापुर उदयचोक घर भई काठमाडौं महानगरपालिका-२३ बस्ने ४७ वर्षीय शक्ति भौमिक र सुन खरिद गर्ने भारत महाराष्ट्र सोलापुर गोरडवानी घर भई काठमाडौं महानगरपालिका-२२ प्यूखाचोक बस्ने ३० वर्षीय सचिन गाड्वे रहेका छन् ।
प्रहरीले लुटपाट गर्न प्रयोग गरिएको बा८५प ३४७२ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका चारैजनालाई थप अनुसन्धानको लागि प्रहरी वृत कालिमाटी पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।