काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाइ नगर्न सरकारसँग आग्रह गरेको छ।
आइतवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले उक्त आक्रमणमा परी बन्दी जीवन बिताइरहेका नेपालीको तत्काल उद्धारका लागि प्रधानमन्त्रीले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहुसँग तत्काल संवाद गर्नुपर्ने बताए।
सदनमा आएर घटनाको विवरण मात्रै सुनाएर नपुग्ने भन्दै उनले नेपाली नागरिकहरूको उद्धारका लागि गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका छन् । नागरिकहरूको अभिभावक राज्य भएकाले पीडामा रहेका नेपालीहरूका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘हिजो इजरायलमा हमासको आक्रमणपछि अत्यन्तै भयावह भएको कुरा आएको छ। नेपाली दाजुभाइदिदीबहिनीमाथि ठूलो विपत्ति आइपरेको छ। उनीहरूको अभिभावक यो सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढंगले आफ्ना कदम अघि बढाउनुपर्छ भन्ने म ठान्छु। यहाँका प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग सिधासिधा छलफल गर्नुपर्छ। ‘
संयुक्त राष्ट्रसंघको बैठक समेत चलिरहेको अवस्थामा नेपालीहरूले भोगेको पीडाका बारेमा पनि नेपालका प्रतिनिधिहरूले राष्ट्रसंघको ध्यानाकर्षण गराउनुपर्ने धारणा प्रमुख सचेतक गिरीले व्यक्त गरे ।
भिडिओ