
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ नारायणथानका तेम्बाछिरीङ शेर्पाको उपचारका लागि संकलन गरिएको रकम हस्तान्तरण गरेका छन् ।
स्वयम्भू स्थित नेपाल बुद्व धर्म सेवा संघमा आयोजना गरिएको भेलामा स्वास्थ्य मन्त्री बस्नेतले अमेरिका, कोरिया, जापान लगायतका देशमा कार्यरत सिन्धोपाल्चोकवासीबाट संकलन गरिएको ११ लाख ८६ हजार र स्थानियवासीबाट संकलित ४० हजार गरि जम्मा १२ लाख २६ हजार विरामीलाई हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्वु शेर्पाले गाउँपालिकाको आपतकालिन कोषबाट तेम्बाछिरीङको उपचारका लागि थप एक लाख रुपैया सहयोग गर्ने जानकारी दिए ।
भोटेकोशी गाउँ कार्यपालिकामा कार्यरत तेम्बाछिरीको दुबै मिर्गौला फेल भए पछि विरामी परेर अहिले डायलासिस गराइरहेका छन् ।
उपचार रकम हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले उपचारका लागि सहयोग गर्ने सबै प्रति धन्यवाद व्यक्त गर्दै मिर्गौला दान दिने मान्छे भए प्रत्यारोपणका लागि चिन्ता गर्नु पर्ने बिषय नभएको बताए ।
त्यसैगरि स्वास्थ्य मन्त्री बस्नेतले दुई वटै मिर्गौला फेल भएर डायलासिस गराईरहेका भोटेकोशीकै ज्ञानबहादुर श्रेष्ठको निवास रामकोट पुगेर उनलाई पनि उपचारका लागि संकलन गरिएको ५१ हजार रुपैया हस्तान्तरण गरेका छन् ।