
काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आजै साँझ ५ बजे वीर अस्पताल भर्ना भएका पुर्व राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत अस्पताल पुगेका छन् ।
मन्त्री बस्नेतले वीर अस्पतालको विशिष्ठ (भिआईपी) कक्षमा उपचार गराइरहेका डा.यादवलाई भेटेर स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिएको मन्त्री बस्नेतका प्रेस सल्लाहकार रामचन्द्र दुलालले बताए ।
डा. यादवले आफ्नो उपचारमा वीरका चिकित्सकहरुले कुनै कमि नगरेको महसुस गरेको बताएका छन् ।
पूर्व राष्ट्रपति यादवसहित कोसी प्रदेशका भौतिक पूर्वधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र प्रसाद यादवको वीर अस्पतालमा उपचार भइरहेको छ।
पूर्वराष्ट्रपति यादवलाई उच्च रक्तचाप, मधुमेह तथा ब्याक पेनसम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना भएका हुन् ।
डा. यादवको उपचारका मुटुरोग विज्ञहरु डा.भगवान कोइराला, डा. रत्नमणी गजुरेल, डा. समिर पौडेल लगायतको टीम संलग्न रहेको प्रेस सल्लाहकार दुलालले जानकारी दिए ।
यस्तै, मन्त्री कार्कीलाई डेंगु संक्रमण देखिएको छ भने कांग्रेस सह-महामन्त्री यादवमाथि खुकुरी प्रहार भएपछि विगत ४ दिनदेखि वीर अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्री बस्नेत आजमात्र जनसंख्या र विकास सम्बन्धी विश्व सम्मेलनमा भाग लिएर इजिप्टबाट स्वदेश फर्किएका हुन् ।