
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भूबाट १ हजार दरका १ सय थान (एक बन्डल) नक्कली नेपाली नोटसहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका-४ धारापानी घर भई काठमाडौँ नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापा रहेको प्रहरीले जनाएको छ ।
उनलाई नक्कली नेपाली नोट र २ वटा मोबाइलसहित मङ्गलवार प्रहरीले पक्राउ गरेको हो ।
स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
नेपालको कानुनले “खोटा मुद्रा” को परिभाषा गर्दै लेखेको छ: ‘नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्क वा विदेशी सरकार वा अधिकार प्राप्त विदेशी संस्थाले निकालेको हो भन्ने भान पार्ने वा विश्वास हुने गरी अनधिकृत रूपमा बनाएको वा नक्कली मुद्रा सम्झनु पर्छ ।’
कानुनमा के छ ?
मुलुकी अपराध संहिता-२०७४ ले खोटा मुद्रा बनाउने व्यक्तिलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने तोकेको छ ।
अपराध संहिताको मुद्रा सम्बन्धित कसुरको अन्तरगत दफा २५६ का यस सम्बन्धी सजायको व्यवस्था छ ।
