
काठमाडौं । वैदेशिक रोजगारीको लागि युरोपियन मुलुक पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्युठान मल्लरानी गाउँपालिका-४ खलंगा घर भई हाल काठमाडौं, सामाखुशी बस्ने वर्ष २८ को नवराज खड्का रहेका छन् ।
उनले वैदेशिक रोजगारीको लागि रु. पन्ध्र लाख रुपैयाँमा पोर्चुगल पठाइदिने भन्दै सन्दीप परियार नाम गरेका व्यक्तिबाट रकम लिएका थिए ।
परियारलाई उनले पोर्चुगलमा मासिक डेढ लाख रुपैयाँ तलब हुने कम्पनीमा काम लगाइदिने आश्वासन दिएका थिए ।
पोर्चुगल जाने आशमा परियारले खड्कालाई रु. तीन लाख रुपैयाँ दिएपछि उनी सम्पर्कबिहीन भएका हुन् ।
विदेश पठाइदिने भन्दै रकम लिएका व्यक्ति सम्पर्कबिहीन भएपछि परियारले वैदेशिक रोजगार विभागमा आफू ठगीमा परेको भन्दै उजुरी दिएका थिए ।
विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्र लेख्दै खड्कालाई विभागमा उपस्थित गराइदिनु अनुरोध गरेको थियो ।
खोजतलासको क्रममा प्रहरीले खड्कालाई हिजो (शनिबार) दिउँसो सामाखुशीबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
रेग्मीका अनुसार उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ ।