
पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा जिप दुर्घना हुँदा घटनास्थलमै निधन भएका तीन जनाको सनाखत भएको छ ।
आज बिहान ८:१५ बजे गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको स्कारपियो जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिएको थियो ।
उक्त दुर्घटनामा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन्।
प्रवक्ता थापाका मृतकहरूमा पोखरा महानगरपालिका-२४ हेम्जा बस्ने वर्ष अन्दाजी ३१ विनोद तिम्सिना, पाल्पा तानेसन नगरपालिका-११ कुरुङखोला घर भई जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवलदार याम बहादुर बोहरा र गुल्मी रेसुङ्गा नगरपालिका-७ भुजेलखर्क बस्ने वर्ष ५० की मनकला चुदारा रहेका छन् ।
घटनास्थलमा प्रहरी उपरीक्षकसहित टोली खटेर घाइतेहरूको उद्दार गरेको थियो । दुर्घटनामा तीन महिला, दुई बालिका, एक बालक र एक पुरुष घाइते भएका छन् ।
चालक गुल्मी रेसुङ्गा नगरपालिका-८ खानीगाउँ बस्ने बर्ष ३६ को बालकृष्ण श्रेष्ठ अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनी जिल्ला प्रहरी कार्यालय पाल्पाको नियन्त्रणमा रहेका छन् ।
घाइतेहरूको नामावली
१. जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका-८ खानीगाउँ बस्ने बर्ष अन्दाजी ४० की शोभा घर्ति मगर (ढाडमा चोट अबस्था मध्यम)
२. सोही स्थानमा बस्ने बर्ष ३७ की सुस्मा राना (निधारमा सामान्य चोट)
३. सुस्मा रानाको छोरी बर्ष ६ की सुरबी राना (बाहिरी चोट नभएको अबस्था सामान्य)
४. सुस्मा रानाको छोरी बर्ष ५ महिनाको सुबिया राना (बाहिरी चोट नभएको अबस्था सामान्य)
५. रेसुङ्गा नगरपालिका-८ खानीगाउँ बस्ने बर्ष ४५ को टेक बहादुर जि.एम. (घाँटी र ढाडमा चोट अबस्था मध्यम)
६. ऐ. ८ खानीगाउँ बस्ने बर्ष २७ की स्विकृती थापा ( ढाड र छातीमा चोट अवस्था मध्यम)
७. स्वीकृती थापाको छोरा बर्ष ५ को सुरेन थापा (टाउको र हातमा सामान्य चोट)
सम्पुर्ण घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको प्रवक्ता थापाले बताए ।